धरानबाट लागुऔषध ट्रामाडोल क्याप्सुल वेचविखन तथा ओसार पसारमा संलग्न पक्राउ
समाचारदाता : गोपाल पौडेल


सुनसरी, २०८१ पुस २९ गते ।
धराने मिडिया : सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुस २५ गते धरान-८ स्थितमा डेरा गरी बस्दै आएका हरीनगर गाउँपालिका-४ का ३१ बर्षीय अरसद अन्सारी र हरीनगर-२ का ४५ बर्षीय जियाउल अन्सारीले लागुऔषध बेचबिखन गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोठा भित्र रहेको जेब्रा झोलामा लुकाईछिपाई राखेको लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१६ का २४ बर्षीय सुमित भुजेललाई ९ सय क्याप्सुल नियन्त्रित औषधी ट्रामाडोल, ट्रामानिल र १ हजार क्यापसुल स्पास्पेन सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट देउरालीले ट्रामोल, स्पास्पेन गरी जम्मा २६३ ट्याब्लेट, डाईजे एभिल १ सेट र नगद ४४ हजार २७५ रुपैया सहित धरान-५ का १८ बर्षीय भुपेन विश्वाकर्मा, २१ बर्षीय साहिल राई, २७ बर्षीय राकेश तामाङ, ४० बर्षीय नबराज राई र धरान- १५ की २७ बर्षीया सोनु राईलाई धरान-५ बाट पक्राउ गरेको छ ।
त्यस्तै कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारले १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित प्र.२-०३-०१५ प ७४१९ नम्बरको मोटरसाईकल चालक सप्तरीका २६ बर्षीय रंजित माझीलाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर