लागुऔषध सहित ७ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत ३० गते ।

धराने मिडिया : मोरङ, झापा र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २९ गते मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा को. १५ प १९६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी-३ का ३५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार ३५ बर्षीय काजीमान लिम्बुलाई मोटरसाईकलमा लुकाईछिपाई ल्याउदै गरेको  ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का ५१ बर्षीय कुमार लिम्बुलाई ब्राउन सुगर १ ग्राम सहित निजकै घरबाट पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी बुधबारेले जहदा गाउँपालिका-१ स्थित बाटोको छेउमा बेवारिसे अवस्थामा रहेको १४ किलोग्राम गाँजा बरामद गरेको हो ।

त्यस्तै  सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले बा. ४४ प ७७४९ नम्बरको मोटरसाईकल चालक धरान - ८ का २४ बर्षीय दिपेश लिम्बु र पछाडी सवार धरान-१९ का सुमन राईलाई प्रतिबन्धित लागु औषध ट्रमाटोल ५७० क्यापसुल र नियन्त्रित  औषधी स्पास्पेन १ हजार ४७० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले देश भारत बेङ्लोरकी ३७ बर्षीया सनम सेख र ५१ बर्षीय ईबराहिम केथाड्थलाई गाँजा ५ किलो ५३४ ग्राम नियन्त्रणमा लिएको  हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर