प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख  ३१ गते।

धराने मिडिया : मोरङ, झापा र भोजपुरबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

वैशाख २९ गते बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेका मोरङ केरावारी गाँउपालिका-७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नबिन चेम्जोङलाई ब्राउन सुगर ४ ग्राम ५० मिलिग्राम सहित र झापा दमक-५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी-३६ एम्पुल सहित पक्राउ गरेको छ ।

त्यसैगरी झापाको मेचीनगर-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउन सुगर ६ सय १० मिलिग्राम सहित पक्राउ गरेको छ ।

सोहि दिन इलाका प्रहरी कार्यालय गौरीगंजले झापा कमल गाँउपालिका-६ का २९ वर्षीय हरि चन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले  भोजपुर-१२ कोट डाडाँका २२ वर्षीय संजिव श्रेष्ठलाई  प्रतिबन्धित औषधी- ट्रमाडोल र स्पासपेन गरि जम्मा २५२ चक्की सहित पक्राउ गरेको  छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर