लागुऔषध सहित ५ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

बिराटनगर, २०८२ जेठ १५ गते ।

धराने मिडिया : झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १३ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका-५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका-९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी बाघखोरले दमक नगरपालिका-३ का २९ बर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका २० बर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर