राष्ट्रिय धान दिवस धरानमा यसरी मनाइयो, यस्तो छ इतिहास
समाचारदाता : गोपाल पौडेल

२०८२ असार १५ गते ।
धराने मिडिया : असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो।
वर्ष २०६६ को नारा "कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं" भन्ने थियो। राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन्।
मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ। कृषि मन्त्रालयल सहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन्।
खेतमा रोपाई गरी दही, चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ।
सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ। सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको पाइन्छ।
नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ ।