छिरिङ तामाङको नयाँ गीत ‘सुकि’ सार्वजनिक
समाचारदाता : गोपाल पौडेल
२०८२ असार २८ गते ।
धराने मिडिया : नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका गायक तथा द क्राइसिस ब्यान्डका मुख्य गायक छिरिङ तामाङको नयाँ गीत ‘सुकि’ हालै सार्वजनिक भएको छ।
गीत छिरिङ तामाङकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको सम्पूर्ण निर्माण कार्य कागज प्रोडक्सनले सम्हालेको छ। भिडियोलाई प्राविधिक हिसाबले आकर्षक र कथावस्तुमा भावनात्मक बनाइएको छ।
‘सुकि’ गीत प्रेम,आत्मसम्मानको संवेदनशील पक्षमा केन्द्रित छ। भिडियोमा युवापुस्ताको जीवनशैली, सम्बन्धका उतारचढाव र मायामा आउने टाढापनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। शब्द, सुमधुर संगीत र गहिरो भावनात्मक अभिनयले भिडियोलाई विशेष बनाएको छ।
गायक छिरिङ तामाङ नेपाली सांगीतिक क्षेत्रका उदीयमान कलाकार हुन्। द क्राइसिस ब्यान्डसँग आवद्ध छिरिङ पछिल्लो समय आफ्ना गीत प्रस्तुतिका लागि परिचित हुँदै गएका छन्। उनका अघिल्ला प्रस्तुति जस्तै ‘सुकि’ ले पनि दर्शकको मन जित्न सफल हुने विश्वास गरिएको छ।
गीत रिलिज भएको केही समयमै युट्युबमा हजारौँ भ्युज प्राप्त गरिसकेको छ भने सामाजिक सञ्जालमा पनि गीतप्रति उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ।



















