पत्रकारहरुमाथी दुर्व्यबहार गर्ने टिएलओ अध्यक्ष कवि याक्खा र श्रमदाता मणिराज राईले मागे माफी
समाचारदाता : गोपाल पौडेल


२०८२ असार ३२ गते।
धराने मिडिया : धरान उपमहानगरपालिका वडा नम्बर ५ का सामुदायिक टोल बिकास संस्थाका अध्यक्ष कवि याक्खा सहित नगरप्रमुख साम्पाङका समर्थक श्रमदाता मणिराज राईले आफूहरुले आवेशमा आएर समचार संकलनमा अबरोध गर्दै पत्रकारहरुमाथि दुर्व्यवहार गरेकोमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कोमल ठाकुरको रोहबरमा क्षमा याचना गर्दै सार्बजानिक माफी मागेका छ।
आगामी दिनमा पुनः पत्रकारहरु सँग यस्तो व्यवहार नदोहोर्याउने प्रतिबद्धता जनाउदै माफी मागेका छन् ।
(टिएलओ) अध्यक्ष याक्खाले क्षमा याचना सहित अब आइन्दा जुनसुकै अवस्थामा पनि जो कसैलाई पनि दुर्व्यवहार नगर्ने, पत्रकार, सञ्चारकर्मीप्रति सम्मानको भावना राख्ने, प्रतिबद्धता प्रकट गरेका थिए ।
(टिएलओ) अध्यक्ष याक्खा र मणि राज राईले मंगलबार इलाका प्रहरी कार्यालयमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष सन्तोष काफ्ले, बरिष्ठ पत्रकार हर्ष सुब्बा, निर्वतमान अध्यक्ष जनकऋषि राई, पत्रकार महासंघ सुनसरीका सचिव प्रर्शुराम बाह्रकोटी (विनय), प्रेस चौतारी नेपाल सुनसरीका अध्यक्ष बिकास चाम्लिङ राई, प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्की, धरान वडा नम्बर ५ का वडा अध्यक्ष मन प्रसाद लिम्बु, वडा सदस्यहरु सुनिता राई र बिजय राई पत्रकारहरु सहितको उपस्थितिमा माफी मागेका हुन् ।
सेउती खोलामा आउने बढीलाई च्यानलिङ गर्ने क्रममा नगर प्रमुख हर्क साम्पाङले जेसीभी लगेर काम सुरु गरेपछि धरान–१५ र धरान–५ का समुदाय बिच विवाद उत्पन्न भई झडपको स्थिति भएको र बाढी जोखिम बस्तीको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरू कपुरी न्युजकी रश्मी प्रधान, पत्रकार महासंघ सुनसरी कार्यसमिती सद्स्य, कोले न्युजका रोहित कुलुङ राई, गणतन्त्र एफएमका रोहित बस्नेत (डेबिट) माथि नगर प्रमुख साम्पाङका समर्थकहरूले समचार संकलनमा अबरोध, गाली गलौज र हातपातको प्रयास गरेका थिए ।
उनीहरूले विवाद भइरहेको अवस्थाको भिडियो खिचेकै बेला ‘किन भिडियो खिचेको, कुन पार्टीको पत्रकार हो ? झोलेहरूलाई कुटेर खोदाउनु पर्छ, पार्टीले पठाएको होला भन्दै’ गालीगलौज गर्दै हातपात प्रयास गरेका थिए ।
पीडित पत्रकारहरूले सार्वजनिक स्थलको घटनाको भिडियो खिच्ने पत्रकारहरूको अधिकार हो भनी जवाफ दिँदा उनीहरू झन् आक्रामक भएका थिए ।
प्रहरी घटनास्थलमा पुगेर स्थिति सम्हालेको थियो । घट्ना लगत्तै पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न सुरक्षा माग सहित दोषीलाई कारबाहीको माग गर्दै हातपात प्रयास गर्ने करिब ५५ वर्षीय मणिराज राई, कवि याक्खा लगायत २ जना महिलाहरुलाई कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा असार २६ गते बिहिबार निवेदन दिएका थिए ।