जर्बजस्ती घेराबारा गरेर बहुसाँस्कृतिक पार्क बनाउन लागेको भन्दै स्थानीयले विरोध

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन १० गते ।

धराने मिडिया : धरानको वडा नं ५ स्थित सेउती र अधेरी खोलाको दोभानमा पर्ने तल्लो देउरालीमा सुकुम्बासी परिवारको जग्गा जर्बजस्ती घेराबारा गरेर बहुसाँस्कृतिक पार्क बनाउन लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

शुक्रबार, नेपाल बसोबास बस्ती संरक्षण समाज, जिल्ला समिति, सुनसरीले पत्रकार सम्मेलन गर्दै सुकुम्बासीहरुलाई बास बस्न नदिएसम्म पार्क पनि बनाउन नदिने चेतावनी दिएका थिए ।

समाजका अध्यक्ष थामसेर लिम्बुले जग्गामा जबरजस्ती पार्क बनाउन वडाका जनप्रतिनिधिहरू, माओवादी र एमालेका नेताहरू लागेको बताए । लिम्बुले भने ‘सुकुम्बासीहरुलाई उचित व्यवस्थापन नगरी जबरजस्ती पार्क बनाए कडा सङ्घर्ष हुन्छ, पार्क बनाउन दिँदैनौँ ।’

WhatsApp Image 2025-07-26 at 7.35.10 AM (1)

पत्रकार सम्मेलनमा वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले विगतमा सोही ठाउँमा जग्गा बेचेको तर अहिले पार्क बनाउने सहमति जनाएको आरोप पनि लगाए । वडाअध्यक्ष लिम्बुसँगै एमालेका स्थानीय नेता चन्द्र भुजेलले पनि जग्गा बेचेको आरोप पत्रकार सम्मेलनमा लगाएका थिए ।

विस्थापित सय घरपरिवारमध्ये अझै पनि ४२ परिवार रहेकोले उनीहरुले घर बनाउन पाउनुपर्ने माग गरेका छन् ।