धरानको तरकारी बजार बिहान ५ बजेबाट मात्र खुल्ने निर्णय

समाचारदाता : गोपाल पौडेल

२०८२ भदौ ०५ गते ।

धराने मिडिया : धरानमा आउने तरकारीमा अत्याधिक विषादी पाइएकोले अब खान हुने नहुने जाँच गरेपछि बिहान ५ बजे पछि मात्र तरकारी बजार खुला गरिने निर्णय भएको छ ।

धरान उपमेयर अइन्द्रविक्रम बेघाको अध्यक्षतामा भएको बैठकले द्रुत बिषादी विश्लेषण इकाईलाई थप प्रभावकारी बनाउने, आवश्यक किट तथा रसायनका लागि प्रदेश कृषि मन्त्रालयसँग सहयोग माग्ने र सम्पूर्ण बजार क्षेत्रमा नमुना परीक्षण गर्ने निर्णय गरेको हो।

बेघाका अनुसार ल्याब परीक्षण गरेर तरकार ब्राणिङ गर्ने कुरामा व्यवसायीहरू आतङ्कित भएकोले अव विषादी परीक्षण नगरी सामान विक्री गरे दण्ड जरिवाना तोकिने छ ।

बैठकमा व्यापारीहरुले कृषि थोक बजारमा मात्र परीक्षण केन्द्रीत गरेको भन्दै तीब्र असन्तुष्टी जनाएका थिए ।

बैठकमा पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, पुर्वउपमेयर मञ्जु भण्डारी, वडाअध्यक्ष नेत्र काफ्ले, कृषि थोक बजार व्यवस्थापन समिति अध्यक्ष काजी गिरी, बजारका पुर्वअध्यक्ष पर्शुराम कटवाल, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, धरान उपमहानगरका प्रशासन महाशाखा प्रमुख वेदप्रसाद सापकोटा, उपभोक्ताको तर्फबाट कांग्रेस धरान सभापति श्याम पोख्रेललगायतले पनि आफ्नो धारणा राखेका थिए । 

विषादीको जाँच यसअघि धरान-१३ कृषि थोक बजारमा आउने तरकारीहरूमा मात्र गरिन्थ्यो । अब घुम्ती टोलीले धरान-३ को पालिका तरकारी बजार, धरान-२/९ को भानु चौकको सब्जी मण्डी र धरान-११ को मङ्गलवारे बजारमा पनि विषादी जाँच गर्ने भएको छ ।