विवादले रोकिएको धरान उपमहानगरको बजेट शनिबार सार्वजनिक (तस्विरहरु)
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ०५ गते ।
धराने मिडिया : मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरुबीचको विवादले रोकिएको धरान उपमहानगरको बजेट शनिबार धरानको १७ औं नगरसभाबाट आएको छ।

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
शनिबार उपमेयर अइन्द्रविक्रम बेघाले नगरसभामा बजेट प्रस्तुत गर्दै यो वर्ष सामाजिक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको बताए।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ ।
खर्चतर्फ शहरी योजना तथा भौतिक पूर्वाधार विकासमा ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा ६ करोड ९९ लाख, सामाजिक विकासमा ४ करोड ८६ लाख, विपद व्यवस्थापनमा २ करोड ७४ लाख, नगर भिजन कार्यक्रमका लागि ५ करोड ५ लाखलगायत विभिन्न क्षेत्रलाई विनियोजन गरिएको छ।