दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १३ गते ।
धराने मिडिया : दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ ।

यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।
यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।