प्रमाणसहितको गुनासो आएपछि सवारी परीक्षण कार्यालय इटहरी प्रमुख र लेखापालको जिम्मेवारी खोसियो

समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १३ गते ।

धराने मिडिया : अनियमिततामा मुछिएको आरोप लागेपछि सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापालको जिम्मेवारी खोसिएको छ ।

इटहरीको पकलीमा रहेको सो कार्यालयबाट अन्तरप्रदेश भई सञ्चालन हुने सार्वजनिक सवारीसाधनको बाटो इजाजत पत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँच पास गर्ने, प्रदूषण परीक्षण लगायतका काम हुँदै आएको छ ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमितता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो ।

त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने म्याद तोकिएको छ।