बडादसैँको दशौँ दिन विजया दशमी, बिहान ११ः५३ बजेको साइत उत्तम
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज १६ गते ।
धराने मिडिया : आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जनाएको छ ।
समितिले विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत निकालेको छ । यस्तै टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने उल्लेख छ ।

हरेक वर्षको शरद ऋतुको आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी देशैभरि मनाइने ऐतिहासिक सामाजिक महत्व बोकेको राष्ट्रिय पर्व हो । आज आफूभन्दा ठूला मान्यजनबाट टीका र प्रसाद ग्रहण गरेपछि आगामी पाँच दिन अर्थात पूर्णिमाको दिनसम्म दशैंको टीका र प्रसाद लगाउने चलन छ ।
महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।