नगर स्तरीय अन्तर- ट्रुप हाजिरी जबाफ सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक २९ गते ।
धराने मिडिया :स्थानीय स्काउट कार्यालय धरानको आयोजना र धरान १ मा रहेको होलि गार्डेन एकेडेमीको व्यवस्थापनमा मिति २०८२/०७/२८ गते शुक्रवार नगर स्तरीय अन्तर- ट्रुप हाजिरी जबाफ सम्पन्न भएको छ ।
होलि गार्डेन विद्यालयको प्राङ्गणमा भएको कार्यक्रमको सभाध्यक्ष विद्यालय प्रिन्सिपल तथा होलि गार्डेन ट्रुपका अध्यक्ष राजेन्द्र गुरुङ हुनुहुन्थ्यो भने प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईं हुनुहुन्थ्यो ।
त्यसैगरी कार्यक्रममा कोशी प्रदेश स्काउटका शैक्षिक पद्धति आयुक्त सुशील राई,स्थानीय स्काउट कार्यालय धरानको प्रमुख आयुक्त मधुसूदन घिमिरे,धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव ध्रुवराज खड्का,कार्य समिति सदस्य स्काउटर र स्काउट विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
धरानका स्काउट सञ्चालन भएका २० ओटा विद्यालय सहभागी भएकामा छनोट चरणबाट ६ ओटा विद्यालय शारदा बालिका,दन्तकाली,होलिगार्डेन,ज्वालामुखी मावि मेघा हिमालय र पब्लिक हाइस्कुल दोस्रो चरण पुग्न सफल भएका थिए ।
तीमध्ये प्रथम स्थान शारदा बालिका,द्वितीय स्थान होलिगार्डेन र तृतीय स्थान दन्तकाली मावि बन्न सफल भयो ।

प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यालय र विद्यार्थीहरुलाई प्रमाणपत्र,मेडल र ट्रफीबाट प्रमुख अतिथि,अतिथिहरुले पुरस्कृत गर्नुभएको थियो ।
स्थानीय स्काउट कार्यालय धरानका कार्य समिति सदस्य तथा होलि गार्डेन विद्यालयका शिक्षक विश्वबन्धु पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कार्यक्रमको पक्षबारे स्थानीय प्रमुख आयुक्तले बोल्नु भएको थियो ।
स्थानीय स्काउट कार्यालय धरान युवा बालबालिकाको सर्वाङ्गीण विकास हुने शारीरिक विकास,बौद्धिक विकास,संवेगात्मक,सामाजिक विकास र आध्यात्मिक विकासका कार्यक्रमहरु विद्यालयहरुसँगको सहकार्यमा निरन्तर गरिरहने जानकारी प्रमुख आयुक्तले दिएका थिए ।
प्रमुख अतिथि धरानका प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले स्काउटले अनुशासन,सच्चरित्र ,स्वावलम्बी ,सिपयुक्त नागरिक बन्न सहयोग गर्ने भएकाले यसमा सबै विद्यार्थीहरु आबद्ध हुनुपर्ने र धरान उपमहानगरपालिका यसका लागि सहयोग गर्न प्रतिबद्ध रहेको धारणा राख्नु भएको थियो ।
होलि गार्डेन एकेडेमीका शिक्षक तथा स्काउटर दामोदर अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष तथा प्रिन्सिपल राजेन्द्र गुरुङले स्काउटसँग सहकार्य गरेर कार्यक्रम गर्न पाएकामा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सहकार्य निरन्तर रहिरहने र प्रत्येक वर्ष स्काउटको एउटा कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।




















