धरान-२० मा अवस्थित 'याकथुङ मुन्धुम यक", सूर्य अस्ताउँदै दृश्य देखि प्रकृतिको अनुपम सौन्दर्यको अनुभूति

समाचारदाता : जिवन लिम्बु

२०८२ पौष १४ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिका वडा नं. २० मा अवस्थित याकथुङ मुन्धुम यक करिब समुद्र सतहबाट १४०० मिटर उचाइमा रहेको एक अत्यन्तै मनमोहक, प्राकृतिक तथा आध्यात्मिक महत्व बोकेको स्थल हो।

यो स्थानबाट साँझपख सूर्य अस्ताउँदै गरेको दृश्य अवलोकन गर्दा प्रकृतिको अनुपम सौन्दर्य अनुभूति गर्न सकिन्छ। सुनौलो रङमा रंगिएको आकाश, पहाडको शितल र शान्त वातावरणले जो–कोहीलाई मोहित बनाउँछ।

(याकथुङ मुन्धुम यक) जैविक विविधताले भरिपूर्ण क्षेत्र हो। यहाँ विभिन्न जातका वनस्पति, जडीबुटी तथा दुर्लभ रुख–बिरुवा पाइन्छन्।

Yakthung Mundum Yok

विशेषगरी वसन्त ऋतुमा लालीगुराँस ढकमक्क फुल्दा यो क्षेत्र झनै आकर्षक देखिन्छ। रातो, गुलाबी गुराँसले पुरै डाँडा र वन क्षेत्र रंगिँदा यो ठाउँ प्रकृतिप्रेमी र फोटो खिच्नेहरूका लागि स्वर्ग समान बन्छ।

यस स्थानको धार्मिक र सांस्कृतिक महत्व पनि अत्यन्त गहिरो छ। (याकथुङ मुन्धुम यक) पवित्र कोका खोलाको शिर (स्रोत) क्षेत्र मा पर्ने भएकाले यसलाई स्थानीय आदिवासी समुदाय, विशेषगरी किरात समुदायले पवित्र भूमि का रूपमा मान्दै आएका छन्।

मुन्धुम (किरातहरूको मौखिक धर्म–दर्शन) अनुसार यो स्थान ध्यान, पूजा र प्राकृतिक शक्तिसँग जोडिएको मानिन्छ।

Sunset

प्राकृतिक सौन्दर्य, धार्मिक पवित्रता र सांस्कृतिक पहिचानको संगम बनेको (याकथुङ मुन्धुम यक) संरक्षण र प्रवर्द्धन गर्नुपर्ने अमूल्य धरोहर हो।

यदि व्यवस्थित रूपमा संरक्षण गर्दै पर्यावरणमैत्री पर्यटन विकास गर्न सकिएमा, यो स्थल धरान मात्र होइन, पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ।

याकथुङ मुन्धुम यक केवल हेर्ने ठाउँ मात्र होइन, अनुभव गर्ने, महसुस गर्ने र आत्मिक शान्ति पाउने स्थान हो।