१३औँ भेडेटार फुड फेस्टिवल सम्पन्न, अंग्रेजी नयाँ वर्षमा गायिका मेलिना राई
समाचारदाता : गोपाल पौडेल
२०८२ पौष १९ गते ।
धराने मिडिया : होटल एशोसिएशन भेडेटारको आयोजनामा तीन दिनसम्म चलेको १३औँ भेडेटार फुड फेस्टिवल सफलतापूर्वक सम्पन्न भएको छ।
फेस्टिवलको पहिलो दिन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए ।
फेस्टिवलको दोस्राे दिन चर्चित गायिका मेलिना राईले भरपुर मनोरञ्जन दिएकी थिइन। उनिसँगै गरिमा डान्स सेन्टर धरान, द एलाईस व्याण्ड, सुहाङ द आमाछोरा व्याण्डले पनि दर्शकहरुलाई झुमाउन सफल भएका थिए।

फेस्टिवल अवधिभर पर्यटकहरूका लागि स्थानीय र मौलिक खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको फेस्टिबलमा कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम सहित जिपलाइन, स्काइ बृज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधिसमेत भएको थियो।

महोत्सव पुस १६ देखि १८ गतेसम्म सञ्चालन भएको थियो।
भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान उपमहानगरपालिकाको जिरो पोईन्टबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ।
भेडेटार समुन्द्री सतहबाट १,४२० मिटर उचाइमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन।




















