कुलुङ समुदायलाई  छुट्टै जातिको रुपमा सूचिकरण गर्न माग

समाचारदाता : भोला श्रेष्ठ

२०८२ पुस २९ गते ।

धराने मिडिया : नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घका अध्यक्ष दौलथ कुलुङले कुलुङ समुदायलाई जातिको रुपमा सुचिकरण गर्न माग गरेकाछन् ।

संघको धरानमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पत्रकार सम्मेलनमा वोल्दै कुलुङले सो कुरा वताएका हुन ।

सोमबार धरान–१५ स्थित हिबिस्कस इङलिस बोर्डिङ स्कुलको सभा कक्षमा पत्रकार सम्मेलनमा उनले सवै समुदायको भावनालाई सम्मान गर्दै आफ्नो अधिकारको लागि लडने वताए ।

सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रहेका अध्यक्ष  कुलुङले मौलिक भाषा, संस्कृतिको संरक्षण नगरे देश सांस्कृतिक रूपमा विघटन तर्फ जान सक्ने बताउदै त्यसको संरक्षण अपरिहार्य रहेको बताए।

उनले कुलुङ समुदायको आफ्नै भाषा, संस्कार, संस्कृति र इतिहास रहेकाले राज्यले छुट्टै जातिको रूपमा सूचिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष कुलुङले छुट्टै जातिको रूपमा मान्यता पाउनका लागि आवश्यक आधार भनेको आफ्नो भाषा, संस्कार र संस्कृति भएको र त्यो सवै आधार कुलुङ समुदायसँग भएको दावी समेत गरेकाछन् ।

उनले २०६६ सालमा नै सुचिकरणका लागि सिफारीस भएपनि हालसम्म राज्यले वेवास्ता गरेको गुनासो  गरेकाछन् । 

संघीय सरकारले आफ्नो जाति र समुदायको माग वेवास्त गरेपनि स्थानीय सरकारबाट भने सूचिकरणको शुरुवात भएको वताउदै संखुवासभाको साल्पासिलिचुङलगायत विभिन्न जिल्लाका सात स्थानीय तहमा कुलुङ जाति सूचिकृत भइसकेको जानकारी दिए । 

सङ्घीय सरकारसमक्ष आफ्ना माग राखिएको र सरकार सकारात्मक देखिए पनि अहिलेसम्म माग कार्यान्वयन नभएको उनको भनाई रहेको छ ।

यसैगरी सङ्घका महासचिव दिपेन्द्र कुमार थोरेप्पाले कुलुङले समुदाय शान्ति, अहिंसा र मानव अधिकारको रक्षाको पक्षमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्ने सबै पक्षलाई कुलुङ सङ्घको अभियानमा साथ दिन आग्रह गरेका छन् ।

अधिवेशनबाट दौलथ कुलुङको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन

पुस २६ र २७ गते धरानमा सम्पन्न नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रूपमा दौलथ कुलुङको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा लाकपद सोम्फोरु चयन भएका छन् भने उपाध्यक्षहरूमा राम बहादुर कुलुङ, अजय अलङ्कार कुलुङ र सम्झना बान्तवा कुलुङ रहेका छन्। महासचिवमा दिपेन्द्र कुमार थोरेप्पा, सचिवहरूमा सम्योगान्त कुलुङ, प्रदिप होङेलु र यमकला कुलुङ चयन भएका छन्।

कोषाध्यक्षमा डिल्ली कुमारी कुलुङ र सह–कोषाध्यक्षमा कमान सिंह कुलुङ चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा गङ्गाराम कुलुङ,चन्द्रलाल कुलुङ, जयनारायन कुलुङ, हरि कुमार दावार कुलुङ, होम बहादुर कुलुङ, प्रेम कुलुङ, सीता बालाखाम कुलुङ, भीम बहादुर कुलुङ, सन्देस कुलुङ, दिलमाया कुलुङ, सुबास कुलुङ, टंक राज कुलुङ, हेमराज थिम्रा कुलुङ र भगत कुमार गदोहो कुलुङ रहेका छन्।