कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०३ गते ।
धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदीमा आधारित पर्यटनको समग्र विकास गर्ने बताउनुभएको छ।
पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको सुनसरीको वराहक्षेत्रस्थित बोराबाँधमा सूर्यास्त अवलोकनका लागि साँझ आइपुग्नुभएका मुख्यमन्त्री कार्कीले आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो।
'प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह मिलेर विकास गर्ने हामीले भनिरहेका छौं, यही विकासबाट पनि समृद्धि ल्याउने हो,' मुख्यमन्त्री कार्कीले भन्नुभयो, 'बर्सातका बेला कोशी नदीमा केही गर्न सक्दैनौं तर अन्य बेला के के समस्या छन्, के के सम्भावना छन्, हामीले के गर्नुपर्ने प्रदेश सरकार तयार छ ।'
मुख्यमन्त्री कार्कीले स्थानीय समितिलाई स्थानीय समस्या र आवश्यकताबारे सरकारलाई लिखित रुपमा पठाउन आग्रह गर्नुभयो।
सरकारले कोशी नदीमा आधारित पर्यटनलाई विकास गर्ने योजना बनाइरहेका बेला जनस्तरबाट प्रचार प्रसार र प्रवर्द्धनमा उल्लेखनीय काम भएको चर्चा गर्दै बोराबाँधको पर्यटन प्रवर्धनले अरुलाई पनि प्रेरणा दिने बताउनुभयो।
उहाँलेस्थानीयलाई धन्यवाद दिँदै भन्नुभयो- 'कोशी भ्रमण वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रुपमा बोराबाँध आउँदा खुसी लागेको छ, यहाँ आधारभूत संरचना निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने छ ।'
बोराबाँध पर्यटन समितिका अध्यक्ष वसन्त राईले सडक असुविधा, शौचालय र भौतिक संरचना निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो।




















