चलचित्र 'ऊनको स्वीटर' युटुभमा सार्वजनिक
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०८ गते ।
धराने मिडिया : आर्टमाण्डुले निर्माण गरेको विपिन कार्की र मिरूना मगर अभिनीत पहिलो फिचर फिल्म 'ऊनको स्वीटर' युटुभमा सार्वजनिक भएको छ।
२ घण्टा २७ मिनेट लामो चलचित्र विहिबार "आर्टमाण्डु" युटुभ च्यानलमा सार्वजनिक भएको हो। यो अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो ।
'ऊनको स्वीटर' नवीन चौहानले निर्देशन गरेका हुन्। निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको थियो।
फिल्ममा विपिन र मिरूनाका साथमा सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, रत्न सुब्बा, मेनुका प्रधान लगायत कलाकारको अभिनय छ।
चलचित्र नेपाल बक्स अफिसमा सुपरहिट भएको थियो र कुल रू ११.३४ करोड आम्दानी गरेको थियो, जसले नेपाली चलचित्र इतिहासमा रू१० करोडको सीमा पार गर्ने केवल १४औँ चलचित्रको रूपमा स्थान बनाएको थियो।
चलचित्र २०८२ वैशाख २६ गते रिलिज भएको हो। 'ऊनको स्वीटर' वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म समेत बनेको थियो।




















