आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा
समाचारदाता : गोपाल पौडेल
२०८२ माघ ०९ गते ।
धराने मिडिया : वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ।
यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदाङ्ग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो ।
नेपालमा सरस्वती पूजा:
सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये काठमाडौँ उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ।
तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।
पूजा गर्ने तरिका
-बिहान स्नान गरी सफा सेतो वा पहेंलो कपडा लगाउने
-पूजा स्थान सफा गरी देवी सरस्वतीको मूर्ति/चित्र स्थापना गर्ने
-दीप प्रज्वलन गरी धूप बाल्ने
-फूल, अक्षता, फलफूल अर्पण गर्ने
-किताब, कलम, वाद्ययन्त्र देवीको अगाडि राख्ने
-सरस्वती मन्त्र जप्ने




















