प्रतिविम्ब ओपन क्र्युको ८औँ वार्षिकोत्सवको अवसरमा ‘सर्व धर्म सभा’ प्रतियोगिता हुने
समाचारदाता : गोपाल पौडेल
काठमाडौं, २०८२ माघ ११ गते ।
धराने मिडिया : नेपाल स्काउट काठमाडौं अन्तर्गत संचालित प्रतिविम्ब ओपन क्र्युले आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
क्र्युको आयोजनामा आगामी माघ २४ गते शनिबार काठमाडौं उपत्यका स्तरीय "सर्व धर्म सभा" (Scouts' Own) प्रतियोगिता हुने भएको हो।
कलंकी स्थित एल.आर.आई. (LRI) स्कुलको प्राङ्गणमा आयोजना हुने यस प्रतियोगितामा काठमाडौं उपत्यकाका करिब ३० वटा स्काउट संचालित विद्यालयहरूको सहभागिता रहने छ।
प्रतिविम्ब ओपन क्र्युका अध्यक्ष श्याम लामाका अनुसार स्काउटिङमा आबद्ध विद्यार्थीहरूमा धार्मिक सहिष्णुता, नैतिक मूल्य र आध्यात्मिक भावनाको विकास गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
अध्यक्ष लामाले भन्नुभयो, "आठ वर्षको सफल यात्रा पूरा गरेको उपलक्ष्यमा हामीले उपत्यका स्तरीय सर्व धर्म सभा आयोजना गर्न लागेका हौँ। यसले विभिन्न विद्यालयका स्काउटहरूलाई एकै ठाउँमा जोड्ने र उनीहरूको प्रतिभा प्रस्फुटन गराउने माध्यम प्रदान गर्नेछ।"
स्काउटिङ अभियानमा ‘सर्व धर्म सभा’ (Scouts' Own) को विशेष महत्व रहिआएको छ। यस कार्यक्रममा कुनै एक धर्म विशेषमा मात्र केन्द्रित नभई सबै धर्मको सम्मान गर्दै मानवीय सेवा र शान्तिको सन्देश प्रवाह गरिन्छ।
माघ २४ गते शनिबार हुने यस प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको र सहभागी विद्यालयका स्काउटहरूमा उत्साह देखिएको आयोजकले जनाएको छ।




















