जेन्जी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न करिब ८ करोड रुपैयाँ

समाचारदाता : गोपाल पौडेल

२०८२ माघ १२ गते ।

धराने मिडिया : मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठक आज सम्पन्न भएको छ।

स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमहरूको समीक्षा र  प्रगति साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा बैठकमा छलफल भएको छ।

यो कार्यक्रम अन्तर्गत करिब ८ करोड रुपैयाँ बराबरको कम्प्युटर प्रिन्टर लगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेन्जी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न सहयोग पुगेको  छ।

यो कार्यक्रमले संघीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छ। प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ।

बैठकलाई सम्बोधन गर्दै  मुख्यमन्त्री कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्विस सरकारको सहयोगमा भएको कार्यक्रमलाई छिटो र छरितो ढंगले टुंग्याउनुपर्ने उल्लेख गर्नुभयो।

कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले स्विस सरकारसगको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै स्विस सरकारले नेपाललाई गरेको सहयोग प्रशंसनीय भएको बताउनुभयो।