धरान डान्सिङ आइडल सिजन–५ को फाइनल सम्पन्न, क्रिस्टिना राई विजेता

समाचारदाता : सन्देश

२०८२ माघ १३ गते ।

धराने मिडिया : हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–५ को फाइनल माघ १२ गते सोमबार धरान -१५ स्थित चुम्लुङ भवनमा सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धाबाट कार्मेल स्कुलकी क्रिस्टिना राई प्रथम भएकी छिन्।

प्रतियोगितामा आइडियल इंग्लिस बोर्डिङ स्कुलका प्रतिक राई द्वितीय,जेनिथ स्कुलकी प्रिन्सा मगर तृतीय भएकी छन् भने डि.पी. बिलिभर्स स्कुलकी सन्ध्या माझी चौथो र यु.एन. नवाेदय स्कुलकी प्रशंसा देवान पाँचौँ स्थानमा रहन सफल भएका छन्।

प्रतियोगिताका विजेता प्रतिस्पर्धीहरूलाई नगद पुरस्कारसहित नटराजको ट्रफी प्रदान गरिएको थियो। प्रतिस्पर्धीहरुलाई प्रथम, द्वितीय तृतीय, चाैथाे र शान्त्वना क्रमश: ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो।

Dharan Dancing Idol Season 5 Winner

धरान उपमहानगरपालिका भित्रका १३ वटा विद्यालयका २९ जना विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा स्थान प्राप्त गर्ने मात्र होइन, सहभागी सबै प्रतिस्पर्धीहरूलाई पनि प्रोत्साहन स्वरूप विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियाे।

प्रतियोगिता अन्तर्गत यस अघि कल्चर राउन्ड तथा मोडर्न विथ प्रप्स राउन्ड सम्पन्न गरिएका थिए। फाइनल चरणमा प्रतिस्पर्धीहरूले सांस्कृतिक, आधुनिक तथा मिश्रित नृत्य प्रस्तुत गरेका थिए।

प्रस्तुत गरिएका सबै नृत्यहरूमा नेपाली गीतको प्रयोग गरिएको थियो। निर्णायक मण्डलले प्रस्तुति, लय, भाव, अभिव्यक्ति तथा समग्र कलात्मक पक्षका आधारमा मूल्याङ्कन गरेको थियो।

Dharan Dancing Idol Season 5 Winner

धरान डान्सिङ आइडल प्रतियोगिताले स्थानीय तहका बालबालिका तथा किशोर–किशोरीहरूलाई नृत्यकला मार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको कार्यक्रम संयोजक रुविन परियारले बताए। उनले प्रतियोगिताले सांस्कृतिक चेतनाको विकास गर्नुका साथै नवप्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

कार्यक्रम धरान उपमहानगरपालिकाका कार्यवाहक नगर‌ प्रमुख आइन्द्र बिक्रम बेघाकाे प्रमुख आतिथ्यतामा भएको थियो।