हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान  गर्न प्रदेश प्रमुखलाई सिफारिस

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ माघ १६ गते ।

धराने मिडिया :  कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेका लागि आह्वान  गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।

बसेको मन्त्रीपरिषद बैठकले आगामी माघ २५ गते दिउँसो २ बजेदेखि प्रदेश सभाको बैठक बोलाउने गरी सिफारिस गरिएको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै मन्त्री पराजुलीले  हाल प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणको क्रममा रहेकाले वैकल्पिक व्यवस्था स्वरूप विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिनुभयो।

मासिक आठ लाख रुपैयाँ भाडा दिने गरी बैठक सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।   मन्त्रीपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित अन्य ६ वटा महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ। सरकारले मन्त्रीपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ लाई स्वीकृत गरेको छ ।

यसैगरी, प्रदेशमा कानुनी सहायता सम्बन्धी व्यवस्था गर्नका लागि कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिएको छ ।

बैठकले विकास आयोजनाहरूतर्फ नेपाल र जापान सरकारबीचको आपसी सहमतिमा सञ्चालित कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, ग्रामीण सडक सञ्जाल सुधार आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय भएको छ। यो कार्यक्रम अन्तर्गत संघीय सरकारले ७७ करोड पुँजीगत र चालु ७० लाख रुपैयाँ उपलब्ध गराएको छ।

विपन्न नागरिकको आवासको अधिकार सुरक्षित गर्नका लागि कोशी जनता आवास सम्बन्धी मापदण्ड सहितको कार्यविधि २०८२ लाई मन्त्रीपरिषद्ले स्वीकृति गरेको छ ।