सुरक्षालाई ध्यानमा राख्दै धरान–९ स्थित खहरे कोरिडोरमा बत्ती जडान

समाचारदाता : सन्देश

२०८२ माघ १७ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य बिकास भाटीको पहलमा धरान–९ चर्च लाइनस्थित खहरे कोरिडोर क्षेत्रको रेलिङमा बत्ती जडान गरिएको छ। स्थानीयवासीको सुरक्षालाई ध्यानमा राख्दै यसअघि पनि भाटीले सोही स्थानमा फलामको रेलिङ जडान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रेलिङमा बत्ती जडान भएपछि उक्त क्षेत्र थप सुरक्षित र उज्यालो बनेको स्थानीयवासीले बताएका छन्। स्थानीय उत्सव केसीका अनुसार, “सानो–सानो कामको आफ्नै महत्व हुन्छ, यस्ता निरन्तर पहलले हाम्रो क्षेत्र अझ सुरक्षित र सुन्दर बनेको छ।"

बत्ती जडानपछि धरान–९ चर्चलाइन तथा धरान–१० बेलगाछी लाइन खहरे खोलाको किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले थप सुरक्षाको अनुभूति प्राप्त गरेका छन्।

स्थानीयस्तरमा भएका यस्ता साना तर प्रभावकारी कार्यले सार्वजनिक स्थानको सौन्दर्य र सुरक्षा अभिवृद्धि गरेको भन्दै स्थानीयवासीले कार्यपालिका सदस्य भाटीप्रति धन्यवाद व्यक्त गरेका छन्।