न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ माघ १९ गते ।
धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यून प्रगतिलाई बढाउनेगरी काम गर्नको लागि निर्देशन दिनुभएको छ।
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको प्रदेश मन्त्रालय स्तरीय विकास समस्या समिति को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले बजेट प्रगति न्यून भएकाले अन द स्पोर्ट कार्यालयमा नै गएर छलफल गरी कार्य प्रगति बढाउन निर्देशन दिनुभयो।
मुख्यमन्त्री कार्कीले दुई तीन वर्षदेखि निरन्तर बजेट राखिने तर त्यो कार्यान्वयन नहुने अवस्था भएमा तत्कालै हटाउन पनि निर्देशन दिनुभयो। उहाँले भन्नुभयो एउटै काम पनि घनचक्कर, जस्तो घुमिरहने तर प्रगति नहुने अवस्थाको अब अन्त हुनुपर्छ।, उहाँले मन्त्रालयभित्रकै कमीकमजोरीहरूलाई चाँडोभन्दा चाँडो हटाएर कामलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो।
कर्मचारी राजनीतिज्ञ र स्थानीय तहले समस्यालाई ठिक ढंगले बुझ्न नसक्दा पनि समस्या भएको चर्चा गर्दै यी सबै क्षेत्रले आफ्नो अधिकार र कामलाई बुझेर अगाडि बढ्न सके प्रगति हुने उहाँले दाबी गर्नुभयो। उहाँले प्रदेशलाई केन्द्रले पनि सहयोग नगरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, कुनै पनि विषयमा प्रदेशमा पटकपटक छलफल हुन्छ र त्यो विषय केन्द्रमा पनि छलफल गरिन्छ हुन्छ भन्नुहुन्छ तर हुँदैन यसले पनि काम गर्न गाह्रो भइरहेको छ।, यातायातको अधिकार प्रदेशमा छ तर यहाँको यातायातबाट उठेको जरिमाना केन्द्र सरकारले लैजान्छ। २०७५ सालदेखि यही कुरा उठाइरहेका छौं तर केन्द्रले सुन्दैन, उहाँले भन्नुभयो।
त्यस्तै लाइसेन्स छपाईको अधिकार पनि प्रदेशमा छ। तर केन्द्रले त्यसलाई पनि सहज रुपले हस्तान्तरण गर्दैन। यसका कारण पनि समस्या रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो। बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले ऐन कानुन संशोधन र पुनर्निर्माण र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।




















