फागुन ५ गते धरानमा नगरस्तरीय अन्तर लोकनृत्य प्रतियोगिता हुँदै

समाचारदाता : सन्देश

२०८२ माघ २० गते ।

धराने मिडिया : धरान नगरस्तरीय रनिङ शिल्ड अन्तर लोकनृत्य प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। धरान नृत्यकला प्रतिष्ठानको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता यस वर्ष तेस्रो संस्करणका रूपमा हुन लागेको हो।

प्रतियोगिता आगामी फागुन ५ गते धरान–१५ स्थित चुम्लुङ हिम भवनमा आयोजना गरिने कार्यक्रम संयोजक एवं प्रतिष्ठानकी अध्यक्ष नन्दा राईले जानकारी दिएकी छिन्। यस प्रतियोगितामा सहभागी विद्यालयहरूले ग्रुप डान्स अन्तर्गत सांस्कृतिक लोकनृत्य प्रस्तुति दिनुपर्नेछ। आयोजकका अनुसार प्रतियोगितामा धरान भित्रका १० देखि १५ वटा विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विजेता टोलीलाई नगद ५० हजार रुपैयाँ, उपविजेतालाई २५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई १५ हजार रुपैयाँ तथा चौथो हुने टोलीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

साथै प्रतियोगिताका विजेतालाई नटराजको ट्रफीसँगै प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य नृत्य संस्कृति प्रवर्द्धन गर्दै विद्यालयस्तरका प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु रहेको प्रतिष्ठानकी अध्यक्ष नन्दा राईले जनाएकी छिन्। गत वर्ष सम्पन्न दोस्रो संस्करणको उपाधि होली गार्डेन एकेडेमीले जितेको थियो।