कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा शुभकामना व्यक्त
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ फागुन २ गते ।
धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरूको महान पर्व मात्र नभई सत्य, संयम, सहिष्णुता र सकारात्मक ऊर्जाको पर्व भएको बताउनुभएको छ । आज शिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री कार्कीलेभगवान शिवको उपासना, तप, त्याग, करुणा र सहअस्तित्वको सन्देशले समाजमा सद्भाव, सहकार्य र आध्यात्मिक चेतना अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
सन्देशमा यस पर्वले सम्पूर्ण नेपालीहरूमा एकता, सामाजिक सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्ने विश्वास पनि व्यक्त गरिएको छ। मौलिक परम्परा र चाडपर्वहरूले समाजलाई सांस्कृतिक रूपमा समृद्ध बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ। प्रदेश सरकारले २०८२ साललाई “कोशी पर्यटन वर्ष” घोषणा गरी मौलिक पर्व र राष्ट्रिय उत्सवहरूको संरक्षण र प्रवर्द्धनमा जोड दिएको उहाँले उल्लेख गर्नुभएको छ।
प्रदेश सरकारले स्थापना कालदेखि नै सबै धर्म, संस्कृति र मौलिक पर्वहरूको संरक्षण र संवर्द्धनमा क्रियाशील रहेको तथा विविधतायुक्त समाजका परम्परा र संस्कृतिलाई सम्मान गर्दै अघि बढिरहेको सन्देशमा उल्लेख छ।
त्यसैगरी मुख्यमन्त्री कार्कीले महाशिवरात्रिकै अवसरमा पर्ने नेपाली सेना दिवसको पनि शुभकामना व्यक्त गरेका छन्। नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता जोगाउन नेपाली सेनाले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” निर्माणका लागि विकास र राष्ट्र निर्माणमा नेपाली सेनाले गरिरहेको योगदान प्रशंसनीय रहेको बताउनुभएको छ।
सन्देशमा राष्ट्र र जनताको सेवामा सधैं अग्रपङ्क्तिमा उभिने नेपाली सेनाको त्याग, समर्पण र अनुशासन सबैका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभएको छ।




















