बालबालिकाको दुरुपयोग र ज्यानमार्ने धम्कीविरुद्ध बाल सञ्जाल आक्रोशित, निर्वाचन आयोग र साइबर ब्यूरो गुहारे
समाचारदाता : गोपाल पौडेल
२०८२ फागुन २ गते ।
धराने मिडिया : धरान उपमहानगरपालिका अन्तर्गतको धरान नगर बाल सञ्जालले बालबालिकाको राजनीतिक दुरुपयोग र त्यसविरुद्ध आवाज उठाउँदा ज्यानमार्ने धम्की आएको भन्दै कडा आपत्ति जनाएको छ। सञ्जालले शुक्रबार निर्वाचन आयोग र नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय साइबर ब्यूरो मा औपचारिक उजुरी दर्ता गरेको हो।
सञ्जालका अनुसार श्रम संस्कृति पार्टी का अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्क राज राई ले २०८२/१०/१९ गतेको चुनावी प्रचारप्रसार कार्यक्रममा बालबालिकालाई प्रयोग गरेका थिए। उक्त कार्य बालबालिका ऐन, २०७५ को दफा ७ तथा निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै सञ्जालले यसअघि नै निर्वाचन अधिकृतको कार्यालय, धरानमा प्रमाणसहित उजुरी दिएको जनाएको छ।
तर उजुरीपछि कानुनी सुनुवाइ हुनुपर्नेमा उल्टै सम्बन्धित पक्षका समर्थकहरूले सामाजिक सञ्जालमार्फत गालीगलौज, चरित्रहत्या र ज्यानमार्ने धम्की दिन थालेको सञ्जालले आरोप लगाएको छ। सञ्जालका प्रतिनिधि रोजन शंकरका अनुसार निरन्तर धम्की र त्रासका कारण आफूहरू जीवनरक्षाका लागि काठमाडौं पुग्न बाध्य भएका हुन्।
रोजन शंकर र सञ्जालका अध्यक्ष मानव विश्वकर्माले संयुक्त रूपमा गृह मन्त्रालय मा समेत निवेदन पेश गर्दै शान्ति–सुरक्षाको माग गरेका छन्। निवेदनमा २०८२/१०/२९ गते राति करिब ८:३० बजे अज्ञात व्यक्तिहरूले पिछा गरी ज्यानको खतरा हुने किसिमले धम्की दिएको उल्लेख छ।
सञ्चारमाध्यममा समाचार प्रकाशन र सामाजिक सञ्जालमा फोटो–भिडियो सार्वजनिक भएपछि बाल सञ्जालका पदाधिकारीमाथि सुनियोजित रूपमा साइबर आक्रमण, अपशब्द प्रयोग र धम्कीको वर्षा गरिएको दाबी गरिएको छ। यस विषयमा निर्वाचन अधिकृतको कार्यालय, सुनसरी क्षेत्र नं. १, इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत निवेदन दिइएको भए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरिएको छ।
बाल सञ्जालले दोषीको पहिचान गरी तत्काल कानुनअनुसार कारबाही गर्न, आफूहरू तथा परिवारको सुरक्षाको प्रत्याभूति दिन र बालअधिकारमाथि भइरहेको हस्तक्षेप रोक्न सम्बन्धित निकायलाई कडा चेतावनीसहित ध्यानाकर्षण गराएको छ।




















