नगरस्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि पर्वत स्कूललाई
समाचारदाता : सन्देश
२०८२ फागुन ७ गते ।
धराने मिडिया : धरान नृत्यकला प्रतिष्ठानको आयोजनामा ‘धरान नगरस्तरीय रनिङ शिल्ड अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता–२०८२’ को तेस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ।
धरान–१५ स्थित चुम्लुङ हिम भवनमा आयोजित प्रतियोगितामा पर्वत बोर्डिङ स्कूल प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रथम बनेको पर्वत बोर्डिङ स्कूलले ट्रफी, प्रमाणपत्र तथा नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै युनाइटेड गोर्खा एकेडेमी दोस्रो स्थान हासिल गर्दै ट्रफी, प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको छ। होली गार्डेन एकेडेमी तेस्रो स्थानमा रहँदै ट्रफी, प्रमाणपत्र र नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कूल चौथो स्थान हासिल गर्दै ट्रफी , प्रमाणपत्र नगद १० हजार पुरस्कार प्राप्त गरेका छ।
धरानका १४ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा नृत्य निर्देशक मणिकुमार राई, नगेन्द्र राई र देव खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतिष्ठानकी अध्यक्ष नन्दा राईको सभापतित्व तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर इन्द्रविक्रम वेघाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।



















