मोन्टेस्वरी किन्डर गार्टेनको अभिभावक दिवस तथा दीक्षान्त सम्पन्न, ३८ विद्यार्थी दीक्षित
समाचारदाता : तिर्थ कार्की
२०८२ फागुन ८ गते ।
धराने मिडिया : धरान–१६ स्थित मोन्टेस्वरी किन्डर गार्टेनमा बुधबार अभिभावक दिवस तथा दीक्षान्त समारोह उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रम विद्यालयकै प्राङ्गणमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका परीक्षा डिन प्रा.डा. अन्जु प्रधानले मोन्टेस्वरी किन्डर गार्टेनले साना साना उमेरका बिद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा–दीक्षा प्रदान गर्दै आएको बताउँदै विद्यालयको प्रशंसा गरिन्। उनले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिन शुभकामना व्यक्त गरिन्।
विद्यालयका निर्देशक गौरबमान श्रेष्ठले अभिभावकहरूको साथ, सहयोग र विश्वासकै कारण विद्यालयले हालको अवस्थासम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा समेत सुझाव र सहकार्यको अपेक्षा रहेको बताए। कार्यक्रम विद्यालयकी प्रिन्सिपल सुलेखा जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो।

सो अवसरमा युकेजी तह पूरा गरेका २८ जना तथा कक्षा–५ सम्म अध्ययन सम्पन्न गरेका १० जना गरी कुल ३८ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। दीक्षित विद्यार्थीहरूलाई प्रमुख अतिथि प्रा.डा. अन्जु प्रधान, प्रिन्सिपल सुलेखा जोशी तथा निर्देशकद्वय गौरबमान श्रेष्ठ र किशन मास्केले गाउन लगाई औपचारिक रूपमा दीक्षा प्रदान गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, राइम तथा सन्देशमूलक नाटक प्रस्तुत गर्दै अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त समारोह भावनात्मक र प्रेरणादायी वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ।



















