चिन्तन दिवसका उपलक्ष्यमा नगर स्तरीय अन्तर्ट्रुप निबन्ध लेखन प्रतियोगिता सम्पन्न
समाचारदाता : मधुसुदन घिमिरे
२०८२ फागुन १० गते ।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको आयोजना तथा डिपो माध्यमिक विद्यालय ( डिपो स्काउट ट्रुप) को व्यवस्थापनमा चिन्तन दिवसका उपलक्ष्यमा नगर स्तरीय अन्तर्ट्रुप निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
स्काउटका संस्थापक लर्ड वेडेन पावेल र लेडी वेडेन पावेलका जन्मदिन फेब्रुअरी २२ लाई स्काउटले चिन्तन दिवसका रुपमा विश्वव्यापी मनाउने गरेको छ। डिपो स्कुलका प्रिन्सिपल राजकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि धरानका कार्यवाहक नगरप्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्र विक्रम वेघा रहेका थिए ।
कार्यक्रममा धरानमा स्काउट सञ्चालन भएका दशओटा विद्यालय सहभागी थिए । कार्यक्रममा कोशी प्रदेश स्काउट कार्यालयका प्रमुख आयुक्त हेमन्त भण्डारी,धरानका शिक्षा महाशाखा प्रमुुख तथा स्थानीय स्काउटका सदस्य सचिव ध्रुवराज खड्का,पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, पब्लिक हाइस्कुलका प्रधान अध्यापक तथा स्थानीय स्काउट कार्यालय धरानका प्रमुख सल्लाहकार इन्द्रमोहन झा लगायतको उपस्थिति रहेको थियो ।

निबन्ध लेखनमा आइडल स्कुलकी स्निग्धा पौड्याल प्रथम, होलि गार्डेन एकेडेमीका रजत भुजेल द्वितीय,च्याम्पियन स्कुलकी आरोही खड्का तृतीय र सुनाखरी एकेडेमीकीआस्ना राई सान्त्वना स्थान प्राप्त गर्न सफल भएकी थिइन् ।
विजेताहरुलाई प्रमुख अतिथि लगायतले प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेले राखेका थिए भने सञ्चालन स्थानीय स्काउट कार्यालय धरानका कार्यालय सचिव सन्तोष कोइरालाले सञ्चालन गरेका थिए ।
यसै अवसरमा पब्लिक हाइस्कुल स्काउट ट्रुप वर्षभरिको क्रियाकलापका आधारमा उत्कृष्ट ट्रुप घोषित भएको थियो । स्थानीय स्काउट कार्यालय धरानले चिन्तन दिवस फेब्रुअरी २२ का दिन अगिल्लो आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने ट्रुपलाई रनिङ शिल्ड र प्रमाणपत्रद्वारा सम्मानित गर्ने गरेको छ ।



















