मुख्यमन्त्री कार्कीद्वारा होली पर्वको शुभकामना
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८२ फागुन १८ गते ।
धराने मिडिया : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि एकजुट हुनुपर्ने बताउनुभएको छ। होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै अहिलेको जटिल राजनीतिक अवस्थामा राष्ट्रिय शक्तिलाई एकीकृत गर्दै मुलुकलाई सही निकास दिनको लागि होली पर्वले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
रङहरूको यो पर्वले आपसी सद्भाव सहकार्य र जिम्मेवारी बोधका साथ अगाडि बढ्नका लागि प्रेरणा दिने उल्लेख गर्दै उहाँले भ्रम र निराशाहरूलाई छरेर अगाडि बढ्न खोज्नेलाई परास्त होली पर्वले सबैलाई ऊर्जा प्रदान गर्ने बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीले आफ्नो विवेक बुद्धि र क्षमतालाई सही ढंगले प्रयोग गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने साझा लक्ष्य पूरा गर्नका लागि सबै नेपाली अग्रसर हुनुपर्ने बताउनुभएको छ। सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नका लागि होली पर्वले सबैलाई उत्प्रेरणा जगाउने बताउँदै मुख्यमन्त्री कार्कीले सकारात्मक ऊर्जा, उत्साह र प्रेरणा छर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।
नेपाल बहुजाति बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको बताउँदै मुख्यमन्त्री कार्कीले नेपालीहरूको मौलिक परम्परा संस्कृति र पर्वले नेपालीलाई समृद्ध बनाएको चर्चा गर्नुभएको छ । कोशी प्रदेशमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा हर्ष उल्लासका साथ होली पर्व मनाइन्छ।




















