अचम्म घोडेजात्राको इतिहास

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत ४ गते।

धराने मिडिया : घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौं उपत्यकामा मनाइँदै आइएको परम्परा हो । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइन्छ।

घोडेजात्राको इतिहास पुरानो किंवदन्तीसँग जोडिएको छ। जनविश्वास अनुसार गुरुमापा नामको एक भयानक राक्षसले पहिले काठमाडौंका बासिन्दालाई निकै दुःख दिने गर्दथ्यो। अन्ततः स्थानीय मानिसहरूले उसलाई मारे।

तर त्यो राक्षसको आत्मा फेरि नफर्कियोस् भनेर मानिसहरूले उसको शरीर गाडिएको स्थानमा घोडा दौडाउन थाले। घोडाको टापले राक्षसको आत्मा डराएर बाहिर नआओस् भन्ने विश्वासका कारण यो परम्परा सुरु भएको मानिन्छ। यही चलन पछि “घोडेजात्रा” पर्वका रूपमा विकसित भयो।

नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ ।