डुङ्गाबाट मात्र पुग्न सकिने ताल बाराही मंदिर
समाचारदाता : गोपाल पौडेल
२०८२ चैत ८ गते।
धराने मिडिया : तालबाराही मन्दिर कास्की जिल्लाको पोखरा स्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बी को मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।
पर्यटकीय सुन्दर नगरी पोखरामा स्थित यो मन्दिर कास्की का घुम्नै पर्ने ठाउँहरूको सूचीमा अग्र पंक्तिमा आउँछ जसका कारण मन्दिरमा पर्यटकहरूको घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छाया देखिने फेवातालको बीचस्थित सानो टापुमाथि प्यागोडाशैलीको मन्दिर रहेका कारण यसको सौन्दर्य अत्यन्त मनमोहक छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये १ हो ।

कास्कीका राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व वि.सं. १६६९ देखि कायम रहिआएको छ । कतै कतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो त्यहीं मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजिन थालिएको थियो ।
मन्दिर पारम्परिक दुई तले प्यागोडा शैलीमा बनेको छ, जुन नेपाली वास्तुकलाको सुन्दर उदाहरण हो।

तालबाराहीमा वैशाख पूर्णिमा र मंसीर पूर्णिमामा विशेष प्रकारले उधौली-उभौली पूजा गर्ने चलन छ। यो परम्पराले मगर संस्कृतिको प्रतिनिधित्व गर्दछ। स्थानीयबाट धान, चामल, धूप, दीप, नैवेद्य, भेटी र पशुको बलि सहित पूजा गर्ने परम्परा भएकोले उहिले उहिले यसलाई ‘गामनाच्ले’ भन्ने गरिन्थ्यो। सो अवसरमा चक्र गाड्ने र झिक्ने प्रचलन भएकाले चक्रपूजाको विशेष महत्त्व देखिन्छ।
तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ ।






















