चैत २६ र २७ गते धरानको भानुचोकमा ‘कोशीमा बिहार उत्सव २०८२’

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २५ गते।

धराने मिडिया : सुनसरीको धरान उपमहानगरपालिकामा दुई दिने ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर यही चैत्र २६ र २७ गते धरानको भानुचोक स्थित खुला क्षेत्रमा उत्सव आयोजना गर्न लागिएको हो।

चैत २४ गते धरान-८ स्थित होटल सन्ध्या इनमा आयोजित पत्रकार सम्मेलन मार्फत  कोशीमा बिहार उत्सव कार्यक्रम बारे आयोजक टोलिले जानकारी दिएका थिए।

भारतको बिहार प्रदेशका पर्यटक भित्र्याउने उद्देश्यले ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना गर्न लागिएको आयोजकले बताएका थिए । उत्सवमा  सिमाना पारी र यहाँका उद्योगी व्यवसायीबीच व्यापार र उद्योगका विषयमा लगानीका क्षेत्रमा समेत अन्तरक्रिया हुने आयोजकले जानकारी दिएको छ ।

उत्सवमा भारतको बिहारबाट पर्यटनकर्मी, पत्रकार, कलाकार एवम् विद्यालयका सञ्चालकहरू लगायतको सहभागिता रहनेछ । कार्यक्रममा दुई देशका कलाकारहरूको सांस्कृतिक कार्यक्रम, कला कार्यशाला, पर्यटन प्रवर्धन र खाद्य स्थलहरू हुनेछन् ।

कोशी प्रदेशका मुख्य लक्षित वर्ग भारतीय पर्यटक हुन् । त्यसमा पनि कोशी करिडरको लागि बिहारका पर्यटक नै मुख्य लक्षित पर्यटक हुन् ।

सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एशोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा सो कार्यक्रम हुन लागेको हो।