धरानमा ‘सुमेधा वक्तृत्वकला प्रतियोगिता’का विजेतालाई नगद पुरस्कार वितरण
समाचारदाता : तिर्थ कार्की
२०८२ चैत २६ गते।
धराने मिडिया : -याडिकल लाईट नेपाल प्रा.लि.द्वारा आयोजित धरान प्लस टु स्तरीय “सुमेधा वक्तृत्वकला प्रतियोगिता”का विजेताहरुलाई मंगलबार नगद पुरस्कार प्रदान गरिएको छ।
धरान–३ स्थित सदन रोडमा रहेको संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमबीच विजेताहरुलाई सम्मानसहित पुरस्कार वितरण गरिएको हो। प्रतियोगितामा धरान मेघा हिमालयन कलेजकी सन्जिना राई प्रथम हुँदै ७ हजार रुपैयाँ नगद प्राप्त गर्न सफल भइन्।
त्यसैगरी, सहिद स्मृति मा.वि.की झरना राई फस्ट रनरअप बन्दै ५ हजार रुपैयाँ नगद प्राप्त गरिन् भने पब्लिक हाईस्कुलकी गुन्जन लुइटेल सेकेन्ड रनरअप बन्दै ३ हजार रुपैयाँ प्राप्त गरिन्। डिपोट सेकेन्डरी स्कुलकी क्याशी राई थर्ड रनरअप घोषित हुँदै १ हजार ५०० रुपैयाँ नगदबाट सम्मानित भइन्।
कार्यक्रममा नेपाल प्याराग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष भुपाल चाम्लिङ राई तथा -याडिकल लाईट नेपाल प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले विजेताहरुलाई खादा तथा अबिर लगाई नगद पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको फाइनल चरण भने गत शनिबार सम्पन्न भएको थियो।




















