चलचित्र "राम नाम सत्य"ः आयुषसिंह ठकुरी र खुशी कार्कीलाई दर्शकले रुचाए

समाचारदाता : गोपाल पौडेल

२०८२ चैत २८ गते।

धराने मिडिया : शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र 'राम नाम सत्य' लाई दर्शकले रुचाएका छन ।

एक्सन-ड्रामा जनरामा बनेको 'राम नाम सत्य' मा अभिनेता विराज भट्ट शीर्ष भूमिकामा छन्। उनका साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायत कलाकारहरूको अभिनय छ।

देशमा भ्रष्टाचार बढ्दै जाँदा र माफिया समूह तथा विदेशी शक्तिको प्रभाव बढ्न थालेपछि ‘अगुआ’ (नेता) नामको एक पात्रले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीलाई एकपछि अर्को गर्दै मार्न थाल्छ । प्रत्येक घटनास्थलमा उसले आफ्नो छुट्टै चिन्ह छोड्ने गर्दछ, जसले कथालाई अझ रहस्यमय बनाउँछ ।

यो फिल्मको रनटाइम १६० मिनेट छ । यसले पीजी सर्टिफिकेट पाएको छ । यसको अर्थ, बालबालिकाले अभिभावकको निगरानीमा मात्र यो फिल्म हेर्नुपर्नेछ । निर्माण टिमका अनुसार फिल्ममा कलाकारको सशक्त अभिनय र कथाको गहिराइले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

माइकल चन्दको निर्देशनमा बनेको 'राम नाम सत्य' उत्साहजनक शोसहित प्रदर्शनमा आएको हो। 

फिल्मको अन्त्यमा विशेष रूपमा सिक्वेलको संकेत दिँदै 'राम नाम सत्य २' को घोषणा समेत गरिएको छ। फिल्मको अन्तिम दृश्यमा डेब्यु अभिनेता तथा चर्चित टिकटकर आयुष सिंह ठकुरीलाई केन्द्रमा राख्दै 'राम नाम सत्य २' उल्लेख गरिएको हो।