मुख्यमन्त्री कार्कीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८३ वैशाख १ गते।
धराने मिडिया : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वको माध्यमबाट समृद्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभएको छ।
नयाँ वर्ष २०८३ को आज शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले संविधान जारी भएको १० वर्ष पुगेपनि केन्द्रीकृत मानसिकताले नछाडेको र यसको चुनौतीका बीच संघीय संरचनालाई बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
मुख्यमन्त्री कार्कीले लोकप्रियतावादले प्रदेश सरकारले कोरेका कतिपय राम्रा पाइलाहरू पनि ओझेलमा परेको चर्चा गर्दै प्रदेश संरचनाले छोटो समयमा पनि धेरै काम गरेको उल्लेख गर्नुभएको छ। पूर्वाधार विकाससँगै प्रदेशले लगानी मैत्री वातावरण बनाउन खेलेको भूमिका साथै उद्यमशीलता प्रवर्धनका लागि अगाडि बढाएका कार्यक्रम र पर्यटन प्रवर्द्धनका कार्यक्रमहरुले राष्ट्रिय पुँजीको विकासमा सहयोग पुग्ने विश्वास मुख्यमन्त्री कार्कीले गर्नुभएको छ।
सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि प्रदेशले सीमित स्रोत र साधनका बीचमा पनि काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। कोशी प्रदेश सरकार देखिने, सुनिने अनुभव गरिने गरी काम गर्न प्रयत्नशील रहेको चर्चा मुख्यमन्त्री कार्कीले गर्नुभएको छ। मुख्यमन्त्री कार्कीलेनयाँ वर्षले शान्ति उमङ्ग र समृद्धि छाउने विश्वास समेत गर्नुभएको छ।




















