वैशाख १८ र १९ हात्तीसारमा विज्ञान तथा प्रविधि विषयक प्रादेशिक सम्मेलन
समाचारदाता : गोपाल पौडेल
सुनसरी, २०८३ वैशाख १७ गते
धराने मिडिया : केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा विज्ञान तथा प्रविधि विषयक प्रादेशिक सम्मेलन आयोजना हुने भएको छ । वैशाख १८ र १९ गते सञ्चालन हुने सम्मेलनमा हाल देशव्यापी समस्याको रूपमा देखिएको बाँदर व्यवस्थापन, स्वास्थ्यकर मासु, भूमिगत पानी लगायत दर्जन बढी शोधपत्रमा छलफल हुने भएको छ ।
बुधबार सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा सहायक क्याम्पस प्रमुख तथा संयोजक डा. बन्टी मास्केले शोधसँगै सम्मेलनमा ३ वटा कि-नोट प्रस्तुत हुने बताए ।
सम्मेलनमा विज्ञान, प्रविधि, खाद्य, पोषण, वातावरण, जैविक विविधता र भूगर्भीय अध्ययनसम्बन्धी ३४ वटा कार्यपत्र तथा शोध प्रस्तुत गरिने छ । सम्मेलन ६ वटा सेसनमा चल्नेछ, जसको अध्यक्षता र सहजीकरण विषय विज्ञहरूले गर्ने छन् ।
सम्मेलन शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । केन्द्रीय प्रविधि क्याम्पसको आयोजना र खाद्य प्रविधि केन्द्रीय विभागले सम्मेलनको सहआयोजना गर्ने क्याम्पसका अध्यापक तथा सम्मेलनका प्रचार संयोजक धिरेन लिम्बूले जानकारी दिए ।





















