२५७०औं बुद्ध जयन्ती:लुम्बिनीमा विशेष कार्यक्रम
समाचारदाता : गोपाल पौडेल
लुम्बिनी, २०८३ वैशाख १९ गते
धराने मिडिया : बैशाख शुल्क पूर्णिमा २५७० औं बुद्ध जयन्ती लुम्बिनी लगायत नेपालभर बुद्धको सम्झनामा मनाईएको छ । बुद्ध जयन्ती वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने पर्व हो, जसले बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटनाको स्मरण गराउँछ।
यसै दिन लुम्बिनीमा राजकुमारका रूपमा जन्मिएका गौतम बुद्धले जीवनको गहिरो अर्थ खोज्दै अन्ततः ज्ञान प्राप्त गरी विश्वलाई अहिंसा, शान्ति र करुणाको मार्ग देखाएका थिए । ‘अहिंसा नै शान्तिको आधार हो’ भन्ने उनका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन् ।
दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि भव्य तयारी गरिएको थियो ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौंथो ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भितनाम, भृटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमि लुम्बिीनीमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।
बुद्ध जयन्ती धार्मिक पर्व मात्र नभएर मानवता, शान्ति र सहअस्तित्वको सन्देश बोकेको दिवस पनि हो । बुद्धका शिक्षालाई आत्मसात गर्दै समाजमा हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्नुपर्ने आवश्यकता छ ।




























