गायक राम कृष्ण ढकालको "मालती मङ्गले" चलचित्र

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २२ गते

धराने मिडिया : संगीतकर्मी रहेका रामकृष्ण ढकालले निर्माण गरेको चलचित्र 'मालती मंगले' २५ बैशाखदेखि प्रदर्शन तयारीमा रहेको छ । यस चलचित्रले गाउँले परिवेशको मर्मस्पर्शी प्रेमकथालाई चित्रण गर्छ ।

युटुभमा सार्वजनिक भएको ट्रेरल देखाए अनुसार दुई पात्रको भेटदेखि विवाहसम्मको यात्रालाई चित्रण गरिएको छ । पुरुष पात्रमा विजय बराल(मङ्गले) र महिला मुख्य पात्रमा वर्षा राउत (मालती)ले अभिनय गरेका छन् ।

मङ्गले र मालती एकअर्कालाई प्रेम गर्छन् र परिवारको विरोध हुँदाहुँदै विवाह गर्छन्। उनीहरूको जीवन सुरुमा साधारण तर खुशीपूर्ण हुन्छ। तर पछि गाउँमा फैलिएको हल्ला, सामाजिक दबाब र गलतफहमीका कारण उनीहरूको सम्बन्धमा समस्या आउँछ।

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस फिल्मलाई रानी फिल्म्सको ब्यानरमा युनी इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो । फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको छ ।

यसअघि फिल्मको दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन् । निर्माता ढकालका अनुसार यो फिल्म राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीति नाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो ।

फिल्ममा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार लगायतको अभिनय छ ।