अदालतको फैसलासँगै ‘लालीबजार’ को प्रदर्शनको बाटो खुल्यो
समाचारदाता : गोपाल पौडेल
२०८३ वैशाख २४ गते
धराने मिडिया : चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।
अदालतको आदेश आएसँगै निर्माण पक्षले चलचित्र वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् । वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् । निवेदक नेपालीले चलचित्रको केही दृश्य र संवादमा ‘वादी’ शब्दको प्रयोग गरी उक्त समुदायलाई लक्षित गरेर नकारात्मक भूमिकामा चित्रण गरिएको र ‘राजासाहेवको चढाउने प्रसाद, राजाको सामान’ जस्ता अपमानजनक शब्दहरू प्रयोग गरिएको दाबी गर्दै रिट दायर गरेकी थिइन् ।
१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र अदालतको आदेशले रोकिएको थियो।
उक्त चलचित्रमा नायिका स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, विरवल चौधरीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।




















