निजी कलेजभन्दा रोजाइमा पोखरिया मावि, कक्षा ११ मा भर्नाका लागि विद्यार्थीको भिड
समाचारदाता : गोपाल पौडेल
विराटनगर, २०८३ जेठ ५ गते।
धराने मिडिया : विराटनगर महानगरपालिका–३ स्थित श्री पोखरिया माध्यमिक विद्यालयमा कक्षा ११ को नयाँ भर्ना प्रक्रिया सुरु भएको छ । भर्नाका लागि विद्यालयमा विद्यार्थी तथा अभिभावकको भिड देखिएको छ।
विद्यालयका अनुसार यस वर्ष कक्षा ११ मा अध्ययनका लागि ५०० भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिएका छन् । विद्यार्थीहरूले निजी कलेजको तुलनामा पोखरिया माविमा गुणस्तरीय पढाइ, अनुशासित वातावरण र अनुभवी शिक्षक रहेको भन्दै विद्यालय रोजेको बताएका छन् ।
अभिभावकहरूले पनि कम खर्चमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएकाले पोखरिया मावि आफ्नो पहिलो रोजाइ बनेको प्रतिक्रिया दिएका छन् । पछिल्ला वर्षहरूमा एसईई नतिजा, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक उपलब्धिका कारण विद्यालयप्रति आकर्षण बढ्दै गएको देखिएको छ ।
विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई ले विद्यालयलाई कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । उनले शैक्षिक गुणस्तर, प्रविधिमैत्री शिक्षण र विद्यार्थीमैत्री वातावरणलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जानकारी दिए।




















