युएन नवोदयले कक्षा–११ मा भर्ना हुने विद्यार्थीहरूलाई लक्षित गर्दै बम्पर छात्रवृत्ति योजना घोषणा
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ ६ गते।
धराने मिडिया : धरान–१६ स्थित युएन नवोदय (UN College) ले नयाँ शैक्षिक सत्रका लागि कक्षा–११ मा भर्ना हुने विद्यार्थीहरूलाई लक्षित गर्दै बम्पर छात्रवृत्ति योजना घोषणा गरेको छ। कलेजले आज आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ विद्यार्थीहरूका लागि विभिन्न प्रकारका छात्रवृत्ति तथा सुविधा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा कलेज प्रशासनले शैक्षिक गुणस्तर, व्यवहारिक तथा रोजगारमुखी शिक्षामा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै योग्य, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर छात्रवृत्ति प्रदान गरिने जानकारी दिएको छ।
कलेजका अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने तथा विभिन्न मापदण्ड पूरा गर्ने विद्यार्थीहरूले १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन्। साथै सीमित समयका लागि विशेष अवसरका रूपमा छात्रवृत्ति योजना लागू गरिएको कलेजका पृन्सिपल डम्बर तुम्बापोले जानकारी दिए।


पत्रकार सम्मेलनका क्रममा कलेजले विज्ञान, व्यवस्थापन लगायतका संकायमा गुणस्तरीय शिक्षा, प्रयोगात्मक सिकाइ, आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक टोली तथा विद्यार्थीको व्यक्तित्व विकासमा विशेष जोड दिइने बताएको छ।
कलेज प्रशासनले विद्यार्थी तथा अभिभावकलाई समयमै भर्ना प्रक्रिया पूरा गरी छात्रवृत्ति अवसरको लाभ लिन आग्रह गरेको छ।
युएन नवोदयले “व्यवहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा” लाई प्राथमिकतामा राख्दै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्य निर्माणमा निरन्तर काम गर्दै आएको जनाएको छ।






















