नगर स्तरीय अन्तर ट्रुप चित्रकला प्रतियोगिता सम्पन्न 

समाचारदाता : मधुसुधन

२०८३ जेठ ११ गते।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको आयोजना र आशा एकेडेमी धरान-६ को व्यवस्थापनमा नगर स्तरीय अन्तर ट्रुप चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

जेठ १० गते स्थानीय स्काउट कार्यालय धरानको वार्षिक कार्यतालिकामा उल्लेख भए अनुरुप कार्यक्रम भएको हो । आशा एकेडेमीका प्रिन्सिपल पुण्यप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि धरानका कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्र विक्रम वेघा थिए ।

कार्यक्रममा स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे,परिषद् सदस्य,विद्यालयका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो । स्काउटका पाँच उद्देश्यभित्र रहेर स्काउट विद्यार्थीहरुले चित्र बनाएका थिए  ।

a4e0c224-fb81-426c-9732-aa93487e8b3f (1)

धरानका स्काउट सञ्चालन भएका २० ओटा विद्यालय सहभागी कार्यक्रममा होलिगार्डेन एकेडेमी स्काउट छात्रा सिम्रन लिम्बू प्रथम,आशा एकेडेमीका छात्र स्काउट निमेष फुँयाल द्वितीय,विष्णु मेमोरियल स्कुलका छात्र समस्त कुमार तृतीय र माउन्ट हार्मोनकी छात्रा स्वर्निम राईले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

विजेतालाई प्रमुख अतिथिद्वारा प्रमाण पत्र,मेडल र ट्रफी प्रदान गरिएको थियो । प्रमुख अतिथि वेघाले स्काउट विपत् र सामाजिक क्षेत्रमा मात्र क्रियाशील नभई युवाविद्यार्थीहरुको चौतर्फी विकासमा केन्द्रित रहेकाले यसलाई सबै विद्यालयहरुमा लागु गरिएको बताए । स्थानीय प्रमुख आयुक्तले स्थानीय स्काउट कार्यालयले यस वर्षदेखि व्यवस्थित रुपमा कार्य तालिका अनुरुप कार्यक्रम गरिरहने कुरा जानकारी दिए ।

त्यसैगरी आशा एकेडेमीका प्रिन्सिपल पुण्यप्रसाद श्रेष्ठले कार्यक्रम गर्ने जिम्मा दिएकामा स्थानीय स्काउट कार्यालयलाई धन्यवाद दिँदै भविष्यमा स्काउटसँगको सहकार्य निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गरे ।