चलचित्र "नुमाफुङ" को २५ वर्षको यात्रा
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ १३ गते।
धराने मिडिया : नुमाफुङ नेपाली चलचित्र इतिहासको एउटा महत्वपूर्ण कोसेढुंगा मानिन्छ। निर्देशक नवीन सुब्बा द्वारा निर्देशित यो चलचित्रले प्रदर्शनको २५ वर्ष पूरा गर्दै नेपाली सिनेमामा मौलिक कथा, आदिवासी समुदायको जीवनशैली र यथार्थपरक प्रस्तुतिको नयाँ अध्याय सुरु गरेको स्मरण गरिएको छ।
लिम्बु समुदायको संस्कृति, परम्परा र महिलाको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘नुमाफुङ’ले नेपाली चलचित्रलाई केवल मनोरञ्जनको माध्यमबाट बाहिर निकालेर सामाजिक यथार्थको गहिरो अभिव्यक्तिमा रूपान्तरण गरेको मानिन्छ। काजिमान कन्दङ्वाको कथामा आधारित यस चलचित्रमा अनुपमा सुब्बा, प्रेम सुब्बा, निवाहाङ्मा लिम्बू, स्वर्गीय आलोक नेम्वाङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
२५ वर्षअघि प्रदर्शनमा आएको यो चलचित्रले नेपाली सिनेमामा नयाँ दृश्यभाषा र कथावाचन शैली भित्र्याएको थियो। प्राकृतिक प्रकाशको प्रयोग, स्थानीय परिवेश, मौलिक भाषा र पात्रहरूको स्वाभाविक अभिनयले चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको थियो।




















