सञ्चारकर्मीका लागि साइबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ १६ गते।

धराने मिडिया : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको आयोजनामा सञ्चारकर्मीहरूका लागि “साइबर सुरक्षा, साइबर अपराध र कानुनी सचेतना” विषयक एक दिने अनुशिक्षण कार्यक्रम धरानमा सम्पन्न भएको छ।

डिजिटल प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र अनलाइन माध्यमको प्रयोग बढिरहेका बेला पत्रकार तथा सञ्चारकर्मीलाई साइबर सुरक्षाबारे सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

तालिममा सहभागी पत्रकारहरूलाई साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, व्यक्तिगत डाटा सुरक्षा, डिजिटल माध्यममा हुने कानुनी चुनौती तथा नेपालको प्रचलित साइबर कानुनबारे जानकारी गराइएको थियो।

कार्यक्रमका वक्ताहरूले पत्रकारिता क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै जाँदा साइबर जोखिम पनि बढिरहेको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा तथ्य, गोपनीयता र डिजिटल सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।

अनुशिक्षणमा सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले डिजिटल युगमा सुरक्षित र जिम्मेवार पत्रकारिता गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका थिए। 

धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको हो ।

फोनिज सुनसरीले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि तथा डिजिटल सुरक्षासम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।