सवारी चालक अनुमतिपत्र छपाइ र वितरणको काम बन्द
समाचारदाता : गोपाल पौडेल

२०८२ असोज ११ गते ।
धराने मिडिया : यातायात व्यवस्था विभागले आफ्ना अति आवश्यक सेवाहरू सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको छ ।

विभागका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको संरचनामा गम्भीर क्षति पुगेको छ ।
विशेष गरी इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भर नष्ट हुँदा सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (EDLVRS) सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।

सेवा बन्द भएपछि नयाँ लाइसेन्स आवेदन, नवीकरण, सवारी दर्ता, नामसारी जस्ता काम गर्न चाहने सेवाग्राहीहरू प्रभावित भएका छन्।
सर्भरको मर्मत सम्भार गर्ने कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नहुँदासम्म सेवा बन्द गर्ने सूचना जारी गरेको हो ।