धरानमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न
समाचारदाता : बिरेन्द्र थापा
२०८२ माघ २१ गते ।
धराने मिडिया : धरान उपमहानगरपालिका–१४ मा रहेको दन्तकाली माध्यामिक बिधालयको प्राङ्गणमा होप धरानको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको छ। “Give Act & Pray” भन्ने मूल नारासहित आयोजित शिविरमा १९३ जना सेवाग्राहीले आँखाको जाँच गराएका छन्।
शिविरमा जाँच गराएका मध्ये ३४ जनामा मोतिबिन्दु देखिएको छ। मोतिबिन्दु पुष्टि भएका बिरामीहरूमध्ये १३ जना पुरुष र २१ जना महिला रहेका छन्। ती बिरामीहरूको माघ २२ गते विराटनगर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने आयोजकले जानकारी दिएको छ।

शिविरका प्रमुख अतिथि ९८ वर्षीय पुरुषोत्तम भट्टराई रहनुभएको थियो। उहाँ पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयका संस्थागत प्रधानाध्यापक हुनुहुन्छ। शिविर उद्घाटन गर्दै प्रमुख अतिथि भट्टराईले आँखा स्वास्थ्य मानव जीवनको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरले समाजका विपन्न तथा वृद्धवृद्धालाई ठूलो राहत पुग्ने बताउनुभयो।
शिविरमा सहभागी सेवाग्राहीहरूलाई दर्ता प्रक्रिया पश्चात दृष्टि परीक्षण (Vision Test), आँखा परीक्षण (Eye Test), चस्मा जाँच (Spectacles Test) तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको थियो।
प्रारम्भिक अवस्थामै आँखा सम्बन्धी समस्या पहिचान गरी समयमै उपचारमा पहुँच पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकको भनाइ छ।

उक्त शिविरमा भानु चस्मा घरले चस्मा आवश्यक पर्ने सेवाग्राहीहरूलाई सहुलियत दरमा चस्मा वितरण गरेको थियो भने धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरेको छ।
मोतिबिन्दु भएका बिरामीहरूलाई तोकिएको मितिमा आवश्यक तयारीसहित विराटनगर आँखा अस्पताल पुर्याइने तथा शल्यक्रियापछि समेत आवश्यक परामर्श र सहयोग प्रदान गरिने जनाइएको छ। शिविरमा स्थानीय स्वयंसेवक, स्वास्थ्यकर्मी तथा विभिन्न संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय नागरिकहरूको उल्लेख्य सहभागितामा सम्पन्न शिविरले आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्याएको आयोजकले जनाएको छ।






















